काठमाडौँ । विश्व नारी दिवसको पूर्व सन्ध्यामा विश्व सामाजिक मञ्च २०२४ अन्तर्गत विश्व महिलावादी मञ्चद्वारा ११ बुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ ।
संरचनागत विभेद विरुद्धको प्रतिरोध भन्ने नाराका साथ महिला, किशोरी, युवा, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानव अधिकारको सवालमा कार्यरत अभियन्ताहरुको सहभागिता तथा ऐक्यबद्धतामा सम्पन्न विश्व सामाजिक मञ्चबाट तय भएकाे ११ बुँदे घोषणा पत्र विश्व महिलाबादी मञ्चका सह आयोजक संस्थाहरूका तर्फबाट सार्वजनिक गरिएको हो ।
घोषणा पत्रमा उल्लेख रहेका मागहरूतर्फ संसारभरका सरकार जिम्मेवार नभएसम्म अहिले सरकारद्वारा लिइएको नारा ओठे नारामा मात्र सीमित रहने निचोड निकालिएको छ ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक)का संस्थापक अध्यक्ष एवं महिला अधिकारकर्मी डा. रेणु अधिकारीले आज काठमाडाैँमा घोषणापत्र सार्वजनिक गर्दै विश्व नारी दिवसका अवसरमा दबाब मूलक कार्यक्रम यो हप्ताभरि नै गर्न आह्वान गर्नुभयो ।
विश्व सामाजिक मञ्च २०२४ अन्तर्गत विश्व महिलावादी मञ्च ‘संरचनागत विभेद विरुद्धको प्रतिरोध’ भन्ने नारा सहित महिला, किशोरी, युवा, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानव अधिकारको सवालमा कार्यरत अभियन्ताहरुको सहभागिता तथा ऐक्यबद्धतामा सम्पन्न भएको थियो ।
ओरेकलगायत ४० भन्दा बढी समुदाय तहदेखिका राष्ट्रिय, अन्तर्राष्ट्रिय सह–आयोजक सङ्घसंस्थाको संयुक्त आयोजनामा विश्व महिलावादी मञ्चको उद्घाटन ‘न्यायका लागि सँगसँगै– हामी सबैको ऐक्यबद्धताद्वारा अर्को विश्व सम्भव छ’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित भएर आयोजना गरिएको थियो ।
उद्घाटन सत्र जबरजस्ती उठीबासबाट अहिले महिला तथा बालबालिकाहरू कसरी प्रभावित भइरहेका छन् भन्ने मर्मस्पर्शी लघु नाटकबाट सुरु भएको थियो भने अन्त्य हामी ऐक्यबद्ध भयौँ भने परिवर्तन सम्भव छ भन्ने बहसमा जोड दिँदै हामी बेग हौँ भन्ने नारा सहितको नृत्यबाट सम्पन्न गरिएको थियो ।
मञ्चमा २२ देशका ४७ जना वक्ताका साथै समुदाय तहदेखिका ३००० भन्दा बढी महिलाको सहभागितामा १२ वटा विषयमा छलफल गरिएको थियो ।
९८ देशबाट उपस्थित सहभागिता साथै विश्व महिलावादी मञ्चमा सहभागीद्वारा अहिले विश्वमा विभिन्न रूपमा रहेको साम्राज्यवादी, कट्टरपन्थी र क्रुर शासनको राजनीति असमानता र युद्धको सबैभन्दा ठुलो कारण रहेको निष्कर्ष निकाल्दै गाजा, युक्रेन, म्यानमार, मणिपुर, अफगानिस्तानलगायत ठाउँमा भइरहेको युद्ध र यसले निम्त्याएको क्रुर अवस्थाका केही उदाहरण प्रस्तुत गरिएको थियो । सबै प्रकारका युद्ध, सशस्त्र सङ्घर्ष र सैन्य अधिनायकत्वमा महिलाले सबैभन्दा बढी पीडा भोग्नुपरेको यथार्थ उजागर गर्दै यसको अन्त्यका लागि महिलावादी अधिकारकर्मीले विश्वव्यापी रूपमा समुदायको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनलाई बलियो बनाउन र न्यायपूर्ण संसार बनाउन साम्राज्यवादी, कट्टरपन्थी र तानासाही शासनको सामना गर्न रूपान्तरणकारी महिलावादी राजनीतिक प्रणाली आवश्यक रहेको र यसका लागि आफूहरू सङ्घर्षशील रहने प्रतिबद्धता यी संस्थाहरूले गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०, १२:३२