काठमाडौँ । ९० प्रतिशत एम्बुलेन्सको दर्ता नवीकरण नभएको सरकारले जनाएको छ ।
सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण रोकिएको हो ।
निर्देशिकामा ‘क’ र ‘ख’ वर्गको मात्रै व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।
संयुक्त एम्बुलेन्स चालक सङ्घका अनुसार नेपालमा सञ्चालनमा रहेका ६ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् ।
८ प्रतिशत ख वर्ग र २ प्रतिशत मात्र क वर्गका छन् । नवीकरण नगरी सञ्चालन भइरहेका एम्बुलेन्सबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सीआईएनसँग कुरा गर्दै नवीकरण गर्नुको विकल्प नभएको बताउनुभयो ।
नयाँ निर्देशिका अनुसार सन् २०१० मोडलभन्दा पहिलाका एम्बुलेन्सको स्तरोन्नति नगरी नवीकरण गर्न पाइने छैन ।
सरकारले जारी गरेको निर्देशिकाले अस्पताल र रेडक्रसले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने अवस्था रहेको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने संयुक्त एम्बुलेन्स चालक सङ्घले माग गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०, १३:००