काठमाडौँ । अर्थ मन्त्रालयले प्रक्रिया अघि नबढाउँदा दाताले दिने भनिएको बालबालिकाको क्यान्सरविरुद्धका ३५ प्रकारका औषधि आउनेनआउने टुङ्गो लाग्न सकेको छैन ।
अर्थ मन्त्रालयले औषधि नेपाल ल्याउन भन्सार शुल्क छुट सम्बन्धी निर्णय नगर्दा प्रक्रिया अगाडि बढ्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ग्लोबल इनिसिएटीभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सहमति भएको थियो ।
औषधि आएपछि बाल क्यान्सरका अधिकांश बिरामीले औषधि निःशुल्कमा पाउने सम्भावना देखिन्छ ।
तर मन्त्रालयले तीन पटक बाटो खुलाउन पत्रचार गरे पनि अर्थ मन्त्रालयले बाटो नखोलिदिएका कारण औषधि ल्याउने प्रक्रिया अगाडि बढ्न नसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सीआईएनसँग बताउनुभयो ।
नेपालमा प्रत्येक वर्ष १ हजार ५ सयभन्दा बढी बालबालिका क्यान्सर रोगबाट प्रभावित हुने गरेका छन् । जसमा रक्त क्यान्सरका बढी हुने गरेका छन् । रक्त क्यान्सरको बिरामी समयमै उपचार पाएमा अधिकांश निको हुने चिकित्सक बताउँछन् ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०, १०:२६