काठमाडौँ । भोलि हुने राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन र प्रतिपक्षी काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
उम्मेदवारी दर्ता गराउने आज बिहान ११ देखि ११ बजेको समयावधिमा सरकारमा रहेका दलका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र नेपाली काँग्रेसको तर्फबाट युवाराज शर्माले नाम दर्ता गराउनुभएको हो ।
शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने दाबी गर्नुभयो । आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरूभन्दा कमजोर नभएको उहाँको भनाइ थियो ।
उम्मेदवार शर्माले काँग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाको प्रस्ताव र सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीभन्दा माथि उठेर काम गर्ने बताउनुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले आफू राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले अध्यक्षमा निर्वाचित भए सभामा पनि आफू पार्टीगत रूपमा नरहने बताउनुभयो ।
दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीको प्रस्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०, १४:४१