काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनामा तेस्रो पटक संसदबाट विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभाकाे बुधबारको बैठकमा उपस्थित २६८ जना सांसद मध्ये १५७ जनाले उहाँको पक्षमा र ११० जनाले विपक्षमा मत दिएका हुन । पेश भएको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा नेकपा एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीका सांसदले पक्षमा मतदान गरे भने नेपाली कांग्रेस, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाले उहाँको विपक्षमा मतदान दिए ।
२०७९ साल पुस १० मा गठित सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिनुभएको थियो । त्यसबेला सरकारमा एमाले, माओवादी रास्वपा, राप्रपा, जसपालगायत दल संलग्न रहेका थिए भने उहाँलाई विपक्षी दल कांग्रेसले पनि विश्वासको मत दिएको थियो । प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले उहाँको पक्षमा मतदान गरेका थिए । २०७९ साल फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेसँगै उहाँले २०७९ चैत ६ गते दोस्रोपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएएको थियो । त्यसबेला बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले उहाँको पक्षमा र ८९ सांसदले विपक्षमा मतदान गरेका थिए ।
कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वापासँग गठबन्धन गर्ने निर्ण गरेसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि उहाँले पुन: विश्वासको मत लिनुभएको हो ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०, १५:५६