काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीमा संलग्नलाई कारबाहीका लागि अघि बढ्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार कारबाही अघि बढाउन उहाँले भन्नुभएको हो ।
गृहमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
"दोषीले उन्मुक्ति नपाउने र निर्दोष नफस्ने वातावरण बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।" आचार्यले भन्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०, १०:४८