काठमाडौँ । अन्तर्राष्ट्रिय कानुनका प्रा. डा. सूर्य सुवेदीको जीवनी विमोचन भएको छ ।
काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म' नामक पुस्तक लोकार्पण गर्नुभयो । पुस्तक विमोचन गर्दै
प्रधानमन्त्री 'प्रचण्ड'ले प्राध्यापक सुवेदीको योगदान देशलाई र विश्वमा नै धेरै रहेको भन्दै उहाँको जीवनी विश्व मञ्चमा नेपालीको सफलता रहेको बताउनुभयो ।
सुवेदीले नेपालबाट६ विश्वका विभिन्न मुलुकमा पुगेर प्रगति पनि गरिरहेको र नेपाललाई आवश्यक परेका बेला पनि कानुनी र अन्य परामर्श दिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ''प्रा. डा. सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो । पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ । १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित हुनुमा प्राध्यापक सुवेदीको हात छ ।"
पुस्तकबारे पूर्व मन्त्री एवम् पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले 'प्राध्यापक सूर्य सुवेदीको जीवनी युवापुस्ताका लागि प्रेरक रहेको' बताउनुभयो । त्यस्तै पूर्व उपसभामुख पुष्पा भुसाल गौतमले भन्नुभयो, "प्रा सूर्य सुवेदीको अबको योगदान नेपालको कानूनलाई संस्थागत गर्दै अगाडि बढाउनमा हुनुपर्छ ।"
लोकार्पणमा प्रा.डा. सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सार संक्षेपबारे चर्चा गर्नुभयो ।
पुस्तक पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलले लेख्नुभएको प्रकाशक संस्था बुक हिलले जनाएको छ ।
पुस्तकको मूल्य ८०० रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०, १५:४६