काठमाडाैँ । युक्रेनले आफ्नो नियन्त्रणमा रहेका पाँच जना नेपालीलाई सार्वजनिक गरेको छ ।रुसी सेनामा भर्ती भएका पाँच जना नेपाली सहित ८ जनालाई सार्वजनिक गरिएको हो ।
सैन्य पोसाकमै रहेका उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनले रुसी सेनामा आफ्ना नागरिक नपठाउन नेपाल लगायत सबै देशलाई आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले गत पुस ४ गते बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी बनेको जनाएको थियो । युक्रेनले सार्वजनिक गरेका थप एक जना को हुन् भन्ने खुलेको छैन । परराष्ट्र मन्त्रालयले पनि यसबारेमा केही बताएको छैन ।
कब्जामा लिइएका नागरिक सार्वजनिक गरेर आफूहरूले थप कडा र प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको सन्देश दिएको र यसबाट विदेशी नागरिक रुसी सेनामा भर्ती हुन नजाउन् भन्ने आफूहरूले चाहेको
युक्रेनी सरकारका युद्ध बन्दी हेर्ने अधिकारी पेत्रो यात्सेन्कोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उहाँले रुसले गरिब देशका नागरिकलाई रुसले भर्ती गरी युद्धको अग्र मोर्चामा खटाएको पनि बताउनुभयो । रुसी सेनामा भर्ती भएका मध्ये अहिलेसम्म २१ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । कतिपय नेपालीले उद्धार गर्न आग्रह गरिरहेको भए पनि सरकारले उनीहरूलाई फिर्ता ल्याउन सकेको छैन ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०, ०८:४८