पाल्पा । पाल्पाको रिब्दीकोट ७ मैनादीका जनक आर्चाय पेसाले शिक्षक हुनुहुन्छ । तर बिहान र बेलुकाको समयमा प्रायः बारीमा भेटिनुहुन्छ ।
अकबरे खुर्सानीको खेतीमा लाग्ने किसानको परिचय बनाउनुभएका उहाँले अरुको जग्गासमेत लिजमा लिएर गरिएको अकबरे खुर्सानी खेतीबाट वर्षमा १५ लाखभन्दा बढी कमाउनुहुन्छ ।
प्रतिरोपनी ६ सय रुपैयाँमा जग्गा लिजमा लिएर खुर्सानी खेती गरेको उहाँको भनाइ छ । ‘पहिलो वर्ष १ सय ३५ रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेको थिएँ । विद्यालयमा पढाउँदाको भन्दा खेतीबाट राम्रो पैसा कमाउने गरेको छु ।’ आचार्यले भन्नुभयो ।
रिब्दीकोट ५ कुसुमखोलाका सीता आर्चायलाई अरु दिदीबहिनीले पनि खुर्सानी खेती गर्ने सुनेपछि फलाएर कहाँ बेच्ने भन्ने चिन्ता लागेको थियो ।
४ सयभन्दा वढी स्थानीयबासीले खुर्सानी खेती गर्दा उत्पादन राम्रो भयो भने बाँदरले बालीमा क्षति पुर्याउने समस्याबाट छुटकार पाइयो । हिजोआज सीता मात्रै होइन, सबैको आम्दानी राम्रो छ । सीताले गएको वर्ष मात्रै १ लाख रुपैयाँ कमाउनुभयो ।
पाल्पाको मैनादीमा दुई सय रोपनी क्षेत्रफलमा व्यावसायिक अकबरे खेती गरिएको छ ।
रिब्दीकोटका महिलाहरुले पछिल्लो समय अकबरे खुर्सानीलाई बिस्तार गरेका छन् । मैनादीका धना रणपाल र भैरवस्थानका मिना बिकले पनि खुर्सानी खेतीलाई आग्दानीको स्रोतसँग जोड्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
रिब्दीकोटमा मात्र ३ हजारभन्दा बढी रोपनी जग्गामा अकबरे खुर्सानीको उत्पादन भएको छ ।
यहाँका १ हजार ७६ जना किसान अकबरे खुर्सानीको व्यावसायिक उत्पादनमा लागेका छन् । यो वर्ष खुर्सानी उत्पादन गर्ने किसानलाई २ सय २० रुपैयाँमा खरिद गर्ने तयारी गरेको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बाहदुर कार्कीले जानकारी दिनुभयो ।
रिब्दीकोटका सबै वडामा अकबरे खुर्सानी उत्पादन हुन थालेसँगै यस पालिकामा अहिले वर्षौदेखि बाँझिएका जमिन हराभरा देखिन थालेका छन् ।
गएको वर्ष यो गाउँपालिकाबाट ४ करोडभन्दा बढीको खुर्सानी बिक्री भएको थियो । प्रमुख सम्भावनाको क्षेत्र कृषि भएका कारण कृषिका लागि पुँजीगत बजेटको करिब २५ प्रतिशत रकम छुट्याईएको पालिकाको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०, ११:११