काठमाडौँ । बागलुङमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ ।
पूर्वी रुकुमबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस हिजो बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गबाट तल खसेको थियो ।
दुर्घटनामा २८ जना घाइते भएको र तीमध्ये ५ जनालाई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, डीएसपी मदन केसीले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार बाँकीको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट-१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका-३ साँखका कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएका गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।
७ जनाको घटनास्थलमै र २ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०, ०९:१५