काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रसायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गर्नुभएको छ ।
बुधबार रुसी राजदूत अलेक्सेई ए नोभिकोभसँग मन्त्री पुनले नेपालमा जलविद्युत र मल उत्पादनमा रुसी लगानी ल्याउन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । नेपालले विजुली बेच्न अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेकोले नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र भएको उहाँको भनाइ छ । यस्तै सरकारले स्वदेशमै रसायनिक मल कारखाना खोल्ने नीति लिएको जानकारी गराउँदै मन्त्री पुनले रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश भएका कारण पनि नेपालमा मल कारखाना खोल्न रुस इच्छुक भए त्यसको वातावरण मनाउन सरकार तयार रहेको बताउनुभएको थियो ।
जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताउनुभयो । भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उहाँको भनाइ थियो । नेपालका दुवै छिमेकी चीन र भारतसँग रुसको राम्रो सम्बन्ध रहेको र आफुहरुले नेपाल, भारत र चीन तीनवटै देशलाई खुसी पारेर काम गर्न सक्नुका साथै नेपाल र भारत दुबै देशमा विक्रि गर्ने गरी नेपाल–भारत सीमा क्षेत्रमा रसायनिक मल कारखाना खोल्ने वा मल नै ल्याएर बेच्ने दुवै सम्भावना रहेको रुसी राजदुतले बताउनुभयो ।
मन्त्री पुनले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गर्नुभयो ।
रुसको उद्योग बाणिज्य संघको नेतृत्वमा लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउने राजदूत नोभिकोभले जानकारी दिनुभयो । यो प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
फरक प्रसंगमा मन्त्री पुनने द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा परराष्ट्र मन्त्रालयमार्फत त्यसबारे रुसी सरकारलाई जानकारी गराएको स्मरण गराउँदै रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गर्नुभयो ।
उहाँले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराउनुभएको सचिवालयले जनाएको छ । जवाफमा राजदूत नोभिकोभले नेपाली नागरिक रुसी सेनामा भर्ती हुनुमा नेपाल सरकार दोषी नभएको तर, रुसले पनि उनीहरुलाई बोलाएर भर्ती नगरेको नभइ भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे ।
रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको दाबी गर्नुभयो । उनले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी दिनुभयो । अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने राजदुतले सुझाव दिनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०, १७:०८