काठमाडौँ । काशीनाथ न्यौपानेद्वारा लिखित उपन्यास अशून्यम् लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिवार आयोजित एक कार्यक्रमका बिच प्रा.डा. जयराज आचार्य, प्रा. डा सर्वराज आचार्य , प्रा. डा. पद्मप्रसाद देवकोटा र डा. प्रभा कैनीले उपन्यास लोकार्पण गर्नुभएको हो ।
अशून्यम्बारे टिप्पणी गर्दै प्राध्यापक जयराज आचार्यले पुस्तकमा आचार्यले अशून्यम् पुस्तकले चिन्तन गर्ने प्रेरणा दिने र पुस्तकले शून्यमा समाहित हुने आधुनिक वैज्ञानिकको सृष्टिप्रतिको धारणा समेटेको बताउनुभयो। तनहुँको दमौलीमा चार वेद र अठार पुराणका रचयिता वेद व्यासको अठ्ठाइसाैँ अवतार श्रीकृष्ण द्वैपायन व्यासको जन्म भएको भन्दै व्यासलाई चिनाउने व्यासका अध्येता काशीनाथ न्यौपानेलाई पनि तनहुँले सम्झनुपर्ने उहाँले बताउनुभयाे ।
त्यस्तै गरी प्रा. डा. पद्मप्रसाद देवकोटाले अशून्यम् दर्शन शास्त्रमा हलचल ल्याउने दर्शनको फ्युजन वैज्ञानिक, वेद र पूर्वीय दर्शनको जवाफ खोजेको पुस्तक रहेको बताउनुभयो। अशून्यम् बारे टिप्पणी गर्दै प्रा. डा. सर्वराज आचार्यले लेखक न्यौपानेले दमौलीमा बसेर पुस्तकमार्फत वेद व्यास मार्फत तनहुँलाई विश्वमाझ चिनाउने काम गरेको। आध्यात्मिक दर्शन भित्रको चिन्तनमा डुबेर न्यौपानेले अशून्यम् प्रस्तुत गरेको उहाँको भनाइ छ ।
यस्तै डा. प्रभा कैनीले पुस्तकको दर्शनभित्र हराएर पटक पटक पढेर मात्र बुझ्न सकिने, वेदको बारेमा लेखिएको, विश्व ब्रह्माण्डका बारेमा काँशी बनारसदेखि भेट भएका योगी साधकले छलफल गरिएका कुराहरू कल्पनादेखि कल्पनासम्मका कुराहरू समेटिएर तयार गरिएको पुस्तक हेर्दा लेखकमा दार्शनिकको स्वरूप पाएको बताउनुभयो।
लेखक न्यौपानेले आफूले पहाड, नदीनाला हेर्दा ,ब्रह्माण्डको उत्पत्ति, जन्म, उमेरावस्था, मृत्यु आदिका बारेका जिज्ञासा लागेर गहिरिँदा य ब्रह्माण्ड अशून्यम् बाट सुरु भएको निष्कर्षसहित पुस्तक लेखेको बताउनुभयो। कल्पनायुक्त शून्यको अवस्था अशून्यम् भएको र अशून्यम् नै चेतनाको जड कल्पना रहेको त्यही ईश्वर हो भन्ने कुरा पुस्तकमा समेटिएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले व्यासको तपोभूमिका अध्येताको पुस्तकभित्र दर्शन चिन्तन, वैज्ञानिक कुराहरू समेटिएको बताउनुभयो ।
कार्यक्रममा युवा अभियन्ता अपार पाैडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०, २१:१९