वीरगञ्ज । आज तराईका जिल्लामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ । हिजो हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकता, भ्रातृत्वका लागि रङ, अबिर लगाएर होली मनाउने गरिन्छ ।
दानबी प्रवृत्तिको प्रतीक मानिने होलीकाको दहनपछि त्यसको खुशियालीमा सद्भावको प्रतीकका रूपमा रङ लगाउने चलन छ ।
अर्कोतर्फ वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई विदाइ गरेको मानिने यो पर्वको अवसरमा गीत गाएर आपसमा रम्ने र झुम्ने परम्परा तराईमधेशमा छ ।
कुनै जातीय वा धार्मिक भेद नहुने होली पर्वमा गीतहरूले अझ रमाईलो बनाउने गरेको नेपाल भोजपुरी समाज पर्साका अध्यक्ष तथा गायक ध्रुवसिंह ठकुरीले बताउनुभयो ।
तराईमा होलीलाई सबैजनासँग प्रेम र सद्भाव बाँड्ने पर्वका रूपमा मनाइन्छ । मैदा र चिनीको विशेष पकवान पुवा, मालपुआ, तरुवाजस्ता परिकार पकाएर खुवाउने गरिन्छ ।
होली मनाएर खुसी साटासाट गर्न काम विशेषले बाहिर गएकाहरू पनि घर फर्कन्छन् । पछिल्ला वर्षहरूमा होली पर्वमा विकृति पनि भित्रिएकोमा चिन्ता बढेको छ ।
जथाभावी रङ छ्याप्ने र नसालु पदार्थ खाने र होहल्ला गर्ने, असुरक्षित तरिकाले सवारीसाधन चलाउने क्रम बढेको छ । होली मनाउँदै गर्दा होलीको नाममा भित्रिरहेको विकृती रोक्न भने सबैको हातेमालो जरुरी रहेको संस्कृतिविद बताउँछन् ।
रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०, ०९:५५