काठमाडौँ । काठमाडौँमा रङ्गकर्मीका लागि माइकल चेकव पद्धतिको कार्यशाला हुने भएको छ।
यही शनिबारबाट चैत २६ गतेसम्म हुने कार्यशालामा २० जना रङकर्मीहरूको सहभागिता रहने नाट्यकर्मी टङ्क चौलागाईंले जानकारी दिनुभयो । माइकल चेवक पद्धतिलाई फैलाउनु कार्यशालाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार रसियन हाउस कमलपोखरीको सहयोगमा हुन लागेको कार्यशालामा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल, भ्याली भ्यु स्कुल र न्यारेटिभ नेपाल सहयोगीका रूपमा जोडिएका छन्।
अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक माइकल चेकवले विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिने गर्नु भएको छ । युरोप र एसियाका धेरै देशमा यो पद्धति चर्चित छ।
स्कुल थिएटर यो पद्धतिलाई नेपालमा स्थापना गराउन लागिपरेको चौलागाईँले बताउनुभयो। अमेरिकी नायिका तथा प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टनले गत वर्ष नेपालमा यो पद्धतीको दुई महिना लामो कार्यशाला सञ्चालन गर्नुभएको थियो । कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतिलाई फैलाउनु रहेको नाट्यकर्मी चौलागाईँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०, १६:१४