रेजिना आपगाईँ
ऊ मेरै छातीमा उभिएर
आफू जीवित हुनुको बोध गरिरहेछ
म अचेतझैँ छु, स्वयं निर्जीवझैँ छु,
मेरो शरीरमा टेकेर ।
ऊ आफ्नै पाइतालाको तारिफ गरिरहेछ
ममाथि उभिएर
आफू अग्लो हुनुको अहङ्कार गरिरहेछ
फिँजाएर मेरै हत्केलामा सपनाहरूको बिस्कुन
ऊ भौँतारिइरहेछ जीवन खोज्न,
मेरै आँखाअगाडि दौडिरहन्छन्
घमण्डका लस्करहरू, स्वार्थका ताँतीहरू
ऊ प्रलाप गरिरहेछ
म सुनिरहेछु,
समयको रस निचोरिएको उसको शरीर
चेतनाको पाना च्यातिएको उसको मस्तिष्क
चुहिने पुरानो कसौँडीझैँ रित्तो मगज
उज्यालो दिनै नसक्ने यो विद्रूप सत्ता ।
म उसको आँखाको भाषा बुझ्छु
ऊ बुझ्दैन मेरो पीडा
म नियालिरहेछु उसलाई
ऊ तृप्ति यतै छोडेर
तृष्णा बोकेर दौडिरहेछ
ऊ आफ्नै घातक विचारहरूका ग्यासमा गुम्सिएर उकुसमुकुस छ
ऊ आफ्नै सपनाहरूका भारले थिचिएर कुप्रिएको छ
आफ्नै घमण्डले च्यापिएको छ
तर कायल भएको छैन,
गन्तव्यको चस्मा टाउकामा राखेर
दृष्टि भ्रमित भौँतारिइरहेछ मेरै वरिपरि ।
ऊ कहिले असफलताको रिसले लात्ती बजार्छ
कहिले सफलताको मातले मुक्का बजार्छ
र सुखको झोँकले बुर्कुसी खेल्छ,
म उसका सबै प्रहार सहिरहेछु
ऊ मलाई टेकेरै सत्तासीन छ
म टेकिएरै
सदियौँदेखि एउटा पर्खाइमा
सङ्घर्षरत छु
म एउटा भुईँ मान्छे ।
(विश्व कविता दिवसको अवसरमा साहित्य सदन नेपालले आयोजना गरेको कविता प्रतियोगिता २०८० मा पहिलो भएको कविता)
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०, १७:५४