काठमाडौँ । प्रतिनिधि सभाको बैठक करिब १ सातापछि आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख स्वीजरल्याण्ड भ्रमणमा गएका कारण यसबीचमा बैठक बस्न सकेको थिएन ।
आजको प्रतिनिधि सभाको बैठकअघि बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी सभामुख देवराज घिमिरले गर्नुभएको संसद सचिवालय स्रोतले जनाएको छ ।
आजको बैठकमा नेपाली काँग्रेसले अवरोध गर्ने वा नगर्ने बारेमा बिहान टुङ्गो लाग्ने छ । त्यस बारेमा छलफलका लागि काँग्रेस पदाधिकारी बैठक बिहान बस्दैछ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा लागेको आरोप काँग्रेसको छ । यसबारेमा अध्ययनका लागि संसदीय छानविन समिति बनाउनुपर्ने माग काँग्रेसको छ ।
प्रतिनिधि सभामा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै बैँक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
अर्थमन्त्रीले भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०, ०८:५३