काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुई पटक भर्ना लिने व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
अनुगमन शैक्षिक फाउन्डेसनले आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उहाँले वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा अवसरको खोजीमा विदेश जाने क्रम रोक्न यो व्यवस्था लागू गर्नेबारे छलफल भइरहेको बताउनुभयो ।
कक्षा ९ देखि १२ मा ४३ प्रतिशत विद्यार्थी विद्यालयबाहिर रहेको, उच्च शिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थिति रहेको भन्दै उहाँले नीतिगत पुनरावलोकन र संस्थागत सुधार गर्नेबारे शिक्षा मन्त्री सुमना श्रेष्ठले मन्त्रालयगत र विज्ञहरूसँग छलफल गरिरहेको सचिव अधिकारीले बताउनुभयो ।
राम्रो पठनपाठन हुने कलेज नेपालमा हुँदाहुँदै पनि नेपालबाट बाहिर जाने विद्यार्थी पढ्नकै लागि मात्रभन्दा पनि सम्मानजनक काम र कमाइका लागि विदेश गइरहेको भन्दै सचिव अधिकारीले यस अवस्थालाई हाम्रो नीतिले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयलाई पढ्ने, पढाउने मात्र नभई अनुसन्धान र उत्पादन गर्ने संस्थामा परिणत गर्दै र विश्वविद्यालयहरू आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
नेपाल खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा लेखनाथ शर्माले पुस्ताबिचको खाडललाई मेट्न सक्ने गरी सूचना प्रविधिसापेक्ष शिक्षा नीति र प्रतियोगिताको अभ्यासमा ध्यान दिन आग्रह गर्नुभयो ।
सम्मेलनमा दिगो विकासका लक्ष्य र शिक्षा नीति, प्राविधिक शिक्षा, कृषि, शिक्षा स्वास्थ्य र वातावरण शिक्षा, वित्तीय क्षेत्र र शिक्षा आदि विषयमा सम्बन्धित विज्ञ र सरोकार भएका व्यक्तिबिच समूह छलफल भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०, १६:५५