सहकारी क्षेत्रमा आबद्ध आम मानिसका लागि चैत २० एउटा विशेष र उत्सवको दिन हो । व्यक्तिले स्वावलम्बीपनको महसुस गर्ने, तथा समुदायलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा विकसित गर्ने अवसरको रूपमा रहेको छ चैत २० ।
वि.सं. २०१० मा सहकारी विभागको गठन भएपछि नेपालमा सहकारीको चर्चा राज्य तहबाट हुन थाल्यो ।
२०१३ साल चैत २० गते चितवनमा बखान सहकारीको स्थापना भएसँगै चैत २० लाई राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो । बखान सहकारी स्थापना भएको पनि ६७ वर्ष पुगेको छ ।
त्यसअघि पनि असङ्गठित रूपमा आम नेपालीले सहकारिताको भावनाअनुसार आपसमा मिलेर बस्ने, मिलेर काम गर्ने, सीप र सृजनाको साटासाट गर्ने गर्दथे ।
गरिब तथा साना किसान, कालिगड, श्रमिक, मजदुर, उपभोक्ता जोकोहीका लागि सहकारिताको भावनाले सङ्गठित गर्ने गरिए पनि आफ्नो छुट्टै कुनै सङ्गठित सहकारी भने थिएन ।
उहिले गाउँ होस् या सहरमा गुठी, पर्म, मेला, धर्म भकारी र ढिकुर, ढुकुटी जस्ता अनौपचारिक तर विश्वासिला प्रचलन कामयै थिए । अर्म पर्म र अैँचो पैँचाे गर्ने परिपाटी त अझै पुरानो भइगयो ।
समुदायमा आपसमा मिलेर बस्नु, सोच्नु र मिलेर काम गर्नुलाई सामान्य भाषामा सहकारिता भनिन्छ । सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्नु, बिचौलियाको चङ्गुलबाट छुटकारा पाउनु र व्यक्तिले सीप र जाँगरले व्यावसायिक जीवन थाल्नु र समृद्धिको सपना देख्ने अभियान नै सहकारिता हो ।
सहकारी खास गरी सामूहिक भावना, प्रयास र सहकार्यबाट सुरु हुन्छ । कुनै पनि काम गर्दा एक व्यक्तिले मात्र गर्न सम्भव हुँदैन र छैन पनि । त्यसको लागि दक्ष जनशक्ति, सामूहिक प्रयास र सहकार्य आवश्यक हुन्छ ।
सहकारीको अवधारणा अनुसार गरिब, निमुखा र आय आर्जनमा प्रत्यक्ष सरोकार राख्न नसकेका व्यक्तिलाई लक्षित गरी सहकारिताको आन्दोलनलाई अगाडि बढेको हो ।
सहकारिताको माध्यमबाट विपन्न वर्गलाई सामूहिक रूपमा लगानी गर्ने, समूहमा काम गर्ने र त्यसको प्रतिफल पनि सामुहिक रूपमै उपभोग गर्ने उद्देश्य बमोजिम सहकारी.क्षेत्र अगाडि बढेको पाइन्छ ।
त्यसका लागि व्यक्तिहरूलाई सहकारीको माध्यमबाट विभिन्न सीपमूलक र रोजगारमूलक तालिमको व्यवस्था गर्ने, सहकारीले व्यक्तिमाथि सहज लगानी गर्ने, नयाँ नयाँ कामको थालनी गर्ने आफ्ना सदस्यहरूलाई कामका लागि उत्प्रेरणा जगाउने वा प्रोत्साहन गर्ने काम सहकारीले गर्नु पर्ने हुन्छ । जसले गर्दा उनीहरूको जीवनस्तर उठाउन मद्दत पुग्नेछ ।
“सहकारी सुशासन, प्रविधि र एकीकरण” यस वर्षको नारा तय गरिएको छ । सहकारी स्वनियमन र सुशासनमा चल्ने सङ्गठित र सुशासित सामुदायिक संस्था हुन् ।
सहकारीका सिद्धान्त, मूल्य र मान्यताले सहकारीहरूलाई सुशासित बनाएको हुन्छ । सहकारीहरू स्वायत्त र स्वतन्त्र हुन्छन् तर संस्थाहरूले सहकारी ऐन, नियमावलीलाई पूर्णतया पालना गर्दछन् त्यसैले त सहकारी विधिको शासनमा चल्ने संस्थाको रूपमा अभ्यास हुँदै आएको हो । एकाध संस्थाको बदनियतपूर्ण कार्यशैलीका आधारमा सिङ्गो सहकारी आन्दोलनलाई अवमूल्यन गर्ने काम राम्रो हुँदै होइन ।
सहकारीमा सासानो पुँजीलाई एकत्रित गरी भकारी भर्ने उद्देश्य बनाइएको हुन्छ । मौरीको जस्तो काम, कमिलाको जस्तो ताँती बनाएर आफै मजदुर आफैँ मालिकको आधारशिला तयार गरी सबै मिलेर हातेमालो गरी विकास गर्ने उद्देश्य सहकारीमा हुन्छ । त्यसैले सुशासन भन्ने बित्तिकै सहकारी संस्थाहरू नीति, विधि र प्रविधियुक्त सञ्चालन हुनु नै हो ।
नियमित बैठक बस्ने, समयमा साधारण सभा गर्ने, समयमा लेखा परीक्षण, आर्थिक पारदर्शिता, सदस्यहरूको सहभागिता र उत्तरदायित्वको बोध जस्ता काम गर्नु अति नै आवश्यक हुन्छ ।
आफ्ना अधिकार सम्पन्न शेयर सदस्यहरूलाई दैनिक रूपमा गर्ने कामको जानकारी दिने, नयाँ अवसरबारे खबर गर्ने, अर्धवार्षिक तथा वार्षिक रूपमा भए गरेका आर्थिक कारोबार र सामाजिक गतिविधिको बारेमा जानकारी गराउने काममा सहकारी संस्थाहरू सदैव तत्पर हुनुपर्ने देखिन्छ ।
आजको युग सूचना र प्रविधिको युग हो । सहकारीमा आबद्ध प्रत्येक शेयर सदस्यको हात हातमा मल्टिमिडियासहितको प्रविधियुक्त मोबाइल हुन्छ । सदस्यहरू आमसञ्चार माध्यमको पहुँचमा पुगिसेकेका हन्छन् । यस्तो परिस्थितिमा सहकारी संस्था सञ्चालन गर्दा सूचना प्रविधिको प्रयोग अति नै आवश्यक भएको छ ।
सहकारीलाई प्रविधिमैत्री बनाउँदै सदस्यको सेवामा सहजिकरण गर्दै सहकारीको सबै कारोबार प्रविधिमैत्री बनाउनु पर्छ । सदस्यहरूलाई सहकारीबाट दिइने सेवा छिटोछरिता बनाउने र उनीहरूलाई सहकारीको लेखाजोखा गर्न सक्ने गरी योग्य बनाउने जिम्मेवारी पनि सहकारी संस्थाको हो ।
अहिले अधिकांश सहकारीले सफ्टवेयरबाट आर्थिक लेखाजोखा गर्दै आएका छन् तर सदस्य केन्द्रीत हुन अझै बाँकी देखिन्छ । सुविधा सम्पन्न काउन्टर अब नचाहिने भएको छ, तर प्रविधियुक्त कारोबार सहकारी संस्थाका लागि अपरिहार्य भएको छ ।
अहिले देशभर विभिन्न प्रकृतिका करिब ३५ हजार सहकारी खुलेका छन् । जसमध्ये झन्डै २० हजारले त बचत तथा ऋणको कारोबार मात्र गर्दछन्, धेरै सहकारी भएर भन्दा पनि सेवा प्रभावकारी बनाउने हिसाबले एकै प्रकृतिका सहकारीलाई संस्थागत हिसाबले एकीकरण गर्ने र सेवा प्रवाहलाई प्रभावकारी सदस्यमैत्री बनाउनुपर्ने आजको आवश्यकता बनेको छ ।
एकीकरणको अभियान अहिले नवलपरासीसहित देशभर सञ्चालनमा पनि छ । एउटा शेयर सदस्यले आफ्नो प्रारम्भिक संस्थाबाट मनग्य सेवा नपाउँदा अन्यत्र सहकारी वा अन्य वित्तीय संस्थाको ढोकामा पुग्ने वातावरणको अन्त्य गर्न अब सहकारी मर्ज अर्थात् एकीकरण गर्न आवश्यक छ ।
त्यसतर्फ पनि आज सहकारी क्षेत्रका अगुवाले सोच्नुपर्ने देखिएको छ । अर्थात् सहकारी क्षेत्र देशको आर्थिक विकासको मेरुदण्ड भएकोले यसलाई नारामा मात्र सीमित नराखी सहकारी, सदस्य र संस्थागत विकासमा घनिभूत रूपमा लाग्नु आजको मूलभूत आवश्यकता र दिवसको सार्थकता पनि हो ।
(लेखक परासी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक हुनुहुन्छ)
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०, १३:१५