काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका कामलाई डिजिटल प्रविधिमा लैजाने बताउनुभएको छ । ट्रान्सक्रिप्टलगायत प्रमाणपत्र डिजिटल रूपमै उपलब्ध गराउने गरी बोलपत्रको प्रक्रिया अघि बढिसकेको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले तोकिएको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति गठन भई अध्ययन सुरु भएको बताउनुभयो । शिक्षक सेवा आयोगले तोकेको शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरावलोकनका लागि कार्यदल गठन भएको उहाँले जानकारी दिनुभयो ।
विद्यार्थीले पढाइ शुल्क बुझाउन नसकेका कारण परीक्षामा सम्मिलित हुन नपाएको भन्ने गुनासो आएकोबारे यकिन जानकारी पाउन सके कारबाही प्रक्रिया थाल्ने शिक्षामन्त्री श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०, १७:५२