काठमाडौं ।
देशका २८ स्थानीय तहमा अझैं बैंक पुग्न सकेको छैन । एउटा वडामा एउटा स्वास्थ्य चौकीको अवधारणा पूरा गर्न सरकारलाई अझै तीन वर्ष लाग्ने देखिन्छ । पिउने पानीको अभावमा धेरै स्थानीय तहका गाउँ छट्पटाइरहेका छन् । तर सरकारको प्राथमिकता भने भ्यू टावरतिर छ ।
धादिङको रुवीभ्याली गाउँपालिकामा रहेको पाङसाङमा एक करोड २० लाखको लागतमा प्रदेश सरकारले भ्यू – टावर निर्माण गर्दैछ । तर भ्यू टावर बन्ने कुरा गाउँपालिकालाई थाहै छैन ।
प्रदेशका मन्त्री र सांसद पाङसाङ पुगेको कुरापनि गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले फेसबुक मार्फत् थाहा पाउनुभएको हो ।
धादिङको रुवीभ्याली गाउँपालिकामा रहेको पाङसाङमा एक करोड २० लाखको लागतमा प्रदेश सरकारले भ्यू – टावर निर्माण गर्दैछ ।
तामाङले भन्नुभयो, ‘उहाँहरु पाङसाङ पनि पुग्नुभएको रहेछ, हामीलाई त केही खबर थिएन, पछि मैले फेसबुकमा हेरेपछि थाहा पाएँ माननीय ज्यूहरु लगाएत जानुभएको रहेछ । ’
४२ सय मिटर उचाइमा निर्माण गर्न लागिएको भ्यू टावरका लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश ३ सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । यद्धपी काम सुरु हुन भने सकेन ।
गाउँपालिकाका अनुसार पाङसाङ आफैंमा अग्लो डाँडा हो । न त अहिले रुबीभ्यालीका लागि भ्यू टावर आवश्यकता हो, न त स्थानीय सरकारले माग नै गरेको थियो ।
रुवीभ्याली गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो, ‘हुन त पाङसाङ डाँडाबाट त्यतिकै पनि देखिनुपर्ने भ्यूहरु देखिराखेको छ । आवश्यक हो जस्तो चाहिँ मैले देख्दिनँ तर अब प्रदेश सरकारले निर्माण गर्न लागिसकेपछि हामीले पर्दैन भनेर पनि कसरी भन्नु ? ठिकै छ ।’
तामाङका अनुसार यो भ्यू टावरको लागि गाउँपालिकाले कुनै निवेदन दिएको होइन, यस्तो काम हुँदैछ भनेर कुनै औपचारिक जानकारी आएको पनि छैन ।
तामाङले भन्नुभयो, ‘त्यहाँ अहिले बरु सडकको आवश्यकता छ, त्यो एक करोड २० लाख सडक मर्मतमा खर्च गर्न पाएको भए हुन्थ्यो । स्थानीयलाई सजिलो पनि हुन्थ्यो ।’
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले प्रदेश १ सरकारको साझेदारीमा ५० करोड लागतमा पिके डाँडामा भ्यु टावर बनाउँदैछ । डिपिआर बनाउन मात्रै स्थानीय सरकारले २० लाख दिइसकेको भ्यू टावरका लागि ८० प्रतिशत प्रदेश र २० प्रतिशत स्थानीय सरकारले खर्च गर्ने गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताउनुभयो ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले प्रदेश १ सरकारको साझेदारीमा ५० करोड लागतमा पिके डाँडामा भ्यु टावर बनाउँदैछ ।
बस्नेतले भन्नुभयो, ‘पर्यटकीय दृष्टिकोणले गाउँपालिकाको सबैभन्दा मुख्य ठाउँ पिके हो । स्वदेशी/विदेशी पर्यटकलाई सजिलो तरिकाले पिकेमा गएर सगरमाथा लगाएत नेपालका धेरैवटा हिमश्रृखलाहरु अध्ययन गर्न सकियोस् भन्नका लागि यो बनाउन लागिएको हो ।’
पाँचथरको फिदिम नगरपालिका २ को रमिते डाँडामा नयाँ शहर आयोजनाले करिब ५ करोडको लागतमा ४ रोपनी जग्गामा भ्यू टावर बनाइरहेको छ ।
स्थानीय सरकारको जोडबलमै बनेको भ्यू टावर निर्माणको काम अबको ६/८ महिनामा सकिन्छ । नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले भन्नुभयो, ‘त्यो ठाउँ आफ्नै पहिचान बोकेको ठाउँ हो, उच्चा ठाउँ, त्यहाँबाट ४/५ वटा जिल्ला देख्न सकिन्छ । पर्यटकको संख्या बढाउन सकिन्छ कि भनेर बनाएका हौं ।’
फिदिममा आएका पर्यटकका कारण आम्दानी बढ्ने र आत्मनिर्भर बन्न सहयोग पुग्ने आशा रहेको र त्यसका लागि भ्यू टावरले सहयोग पुर्याउने अपेक्षा गरिएको नेम्वाङले सुनाउनुभयो ।
पहाडमा सिमेन्ट थुपारेर झन कुरुप बनाइदैंछ – विज्ञ
४२ सय मिटर उचाईको धादिङको पाङसाङ, ४४ सय मिटर उचाईको सोलुको पिके डाँडा आफैंमा अग्ला डाँडा हुन् ।
त्यसमाथि करोडौंका अग्ला टावर । के साँच्चिकै त्यसले पर्यटक तान्ला ? विकासविद् किशोर थापा भ्यू टावरका नाममा पहाड खनेर सिमेन्ट थुपार्ने कामले पर्यटक तान्ने नभइ पर्यटकले हेर्न खोजेका दृश्यहरु पनि छेकिने गरेको बताउनुहुन्छ ।
थापाले भन्नुभयो, ‘अग्रगामी भन्ने नेताहरु नै मन्त्री भएपछि भ्यू टावर बनाउँदै हिडेका छन् । मलाई त गजव के लाग्छ भने, उसले यो मूलुक नचिनेको हो कि ? अथवा त्यो भ्यू टावर बनाउँदा ठेक्का पट्टामा आउने कमीसनमा लोभिएको हो कि ?’
४२ सय मिटर उचाईको धादिङको पाङसाङ, ४४ सय मिटर उचाईको सोलुको पिके डाँडा आफैंमा अग्ला डाँडा हुन् ।
थापाले अगाडी भन्नुभयो, ‘यो अनावश्यक कुरा हो । हाम्रो त प्रकृतिले नै यस्तो राम्रो राम्रो भ्यू टावर बनाइदिएको छ कि, कृतिम भ्यू टावर बनाउनै पर्दैन । हामीले गर्नुपर्ने के हो भने, यि त्यस्ता थुम्काहरु, डाँडाका टुप्पाहरु, त्यस्ता ठाउँहरु पहिचान गरेर जहाँबाट राम्रो भ्यू हरु देखिन्छ, त्यो ठाउँमा जाने बाटो बनाउने हो । त्यहाँसम्म जाने खुड्किलाहरु बनाउनु पर्छ कि । डाँडासम्म जाने एउटा बाटो बनाइदिनु, त्यहाँ मान्छेलाई बस्ने एउटा चौतारी बनाइदिनु । त्योचाहिँ कोही गर्दैनन् । ’
गुणस्तरीय काम नहुने र क्षमताभन्दा बढी मानिस चढ्दा कहिलेकाही ज्यानै जाने अवस्थापनि आउन सक्ने थापा बताउनुहुन्छ ।
कतै नेता, मन्त्री र सांसदको चाहनामा । कतै स्थानीय, कतै प्रदेश र कतै संघीय सरकारकै लगानीमा देशका धेरै डाँडामा भ्यू टावर बनिरहेका छन् । सबैको एउटै उद्देश्य छ, पर्यटकलाई आकर्षण गर्ने । अध्ययन भने कसैले पनि गरेका छैनन् ।
भ्यू टावरले पर्यटक तान्ने होइन रहेछ : मेयर शेर्पा
बर्षमा झन्डै ४० हजार पर्यटक पुग्ने सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाले पहिलो वर्षको कार्यक्रममा समेटेको भ्यु टावर निर्माणको काम अगाडी बढाएन ।
भ्यु टावरले पर्यटन प्रवद्र्धन सहयोग नपुग्ने भएपछि त्यो रकम अन्य काममा खर्च गरिएको नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको भनाइ छ ।
पहिलो वर्षको कार्यक्रममा भ्यू टावरको लागि बजेट छुट्याए पनि अध्ययन गर्दा भ्यू टावरले पर्यटक ल्याउन बल नपुग्ने देखिएपछि छुटयाएको बजेट पर्यटन विकासका अन्य काममा खर्च गरिएको शेर्पाले जानकारी दिनुभयो ।
कतै नेता, मन्त्री र सांसदको चाहनामा । कतै स्थानीय, कतै प्रदेश र कतै संघीय सरकारकै लगानीमा देशका धेरै डाँडामा भ्यू टावर बनिरहेका छन् । सबैको एउटै उद्देश्य छ, पर्यटकलाई आकर्षण गर्ने । अध्ययन भने कसैले पनि गरेका छैनन् ।
उहाँले भन्नुभयो, ‘जहाँ जहाँ भ्यू टावर राख्ने भनेका थियौं, त्यो आफैंमा अग्लो स्थान हो । मौसम सफा हुँदा र घाम लाग्दा मान्छे टावरभित्र पसरे हेर्दैनन्, बाहिरबाटै हेर्छन्, पानी पर्न थालेपछि मान्छे त्यहाँ बस्दैनन् । भनेपछि भ्यू टावर के को लागि ? जब ४ हजार ५ सय मिटरको उचाईमा पुगेसकेपछि त्यहाँबाट ४ मिटर/५ मिटर बढाएर भ्यू टावरबाट हेर्नु भनेको त अलि हास्यास्पद जस्तो भयो ।’
नेपालमा ६० वर्ष अघिबाट भ्यू टावर निर्माण सुरु भएको हो । भ्यू–टावर निर्माण गर्नु भनेको छेउछाउका घर, रुख, अग्लो पहाड, डाँडा भन्दा अलिकति माथि पुगेर दृश्यहरु हेर्न सक्ने अवस्था बनाउनु हो । नेपालका डाँडाकाँडा आफैंमा गगनचुम्बी भ्यू–टावर हुन् । तिनै अग्ला डाँडामा सिमेन्टका थुम्का साँच्चिकै आवश्यकता हो त ? बहसको विषय बनाउनु जरुरी छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६, ०९:४२