काठमाडाैँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिनु भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री अधिकारीलाई आइतबार पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
मुख्यमन्त्री अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ लिनुभएको छ ।
यसअघि अधिकारीले माओवादीका ८ तथा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित राजीव गुरुङ समेतको समर्थनमा मुख्य मन्त्रीमा दावी पेश गर्नुभएको थियो । तर अधिकारीले दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र नेकपा एसबाट निर्वाचित १ सांसद गणना गरे पनि त्यसमा समामुख समेत रहेका कृष्ण धिताललाई समेत गणना गरिएको भन्दै विपक्षी नेपाली कांग्रेसले भने आपत्ति जनाएको छ । सभामुखले सरकारको पक्ष वा विपक्षमा मतदान गर्न नपाइने संवैधानिक ब्यवस्था छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र नेकपा एसबाट निर्वाचित एक सांसद रहेका छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।
यस्तै लुम्बिनी प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त हुनुभएका जोखबहादुर महराले शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । उहाँले नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिरलाई मन्त्री बनाउनुभएको हो ।
बाँकी मन्त्री मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । लुम्बिनीमा सत्तारुढ पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०, १७:२७