काठमाडौँ । रुपान्तरणकारी योजना तर्जुमाका लागि प्रशंसनीय खोजसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम काठमाडौँमा सम्पन्न भएको छ ।
इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजेटिभ साइन्सको आयोजनामा भएको ४ दिने कार्यशालाको आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।
कार्यक्रममा प्रशिक्षक बुद्धी तामाङले विभिन्न अभ्यासमार्फत सिकेका कुराहरू व्यावहारिक जीवनमा कार्यान्वयनका लागि शुभकामना दिनुभयो ।
सकारात्मक सोचका साथ बनाइने योजना र लगावका कारण नै मानिसहरू सफलतामा पुगेको उल्लेख गर्दै सिकेको सीप र ज्ञानका बारेमा समुदायस्तरमा सहजिकरण गर्ने अभियान नै चलाउन अनुरोध गर्नुभयो ।
तालिममा सहभागीको तर्फबाट विचार राख्दै इन्दिरा अधिकारीले व्यक्तिगत र संस्थागत जीवनमा सकारात्मक रुपान्तरण र प्रभावका लागि तालिमले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सबै व्यक्ति वा संस्थामा रहेका सकारात्मक पाटोलाई बढाउँदै बनाइने योजनाका कारण सकारात्मक परिवर्तन सम्भव हुने र त्यसका लागि के कसरी सहजिकरण गर्ने भन्ने बारेमा राम्रो ज्ञान हासिल गरेको उहाँको भनाइ थियो ।
रामेछापको लिखु तामाकोहशी गाउँपालिकाका उपाध्यक्ष दीपा पाख्रिनले विगतमा थुप्रै तालिममा सहभागी हुने अवसर पाए पनि प्रशंसनीय खोजसम्बन्धी तालिमका कारण आफ्नो सोचाइको तरिका नै परिवर्तन भएको बताउनुभयो ।
आगामी आर्थिक वर्षका लागि योजना निर्माण गर्दा पनि तालिममा सिकेको ज्ञानलाई आधार बनाउने उहाँको भनाइ थियो ।
प्रशंसनीय खोजको औचित्य, यसको आवश्यता र प्रभावका बारेमा प्रमुख प्रशिक्षक डा रामचन्द्र लामिछाने र अर्का प्रशिक्षक बुद्धी तामाङले सहजिकरण गर्नुभएको थियो ।
तालिममा जनप्रतिनिधि, कर्मचारी, मानव अधिकारकर्मी, स्वास्थ्यकर्मीलगायतका गरी १६ जनाको सहभागिता थियो ।
प्रशिक्षक तथा इरिप्सका कार्यक्रम निर्देशक लामिछानेले तालिमका क्रममा गरिएका अभ्यास र निकालिएको निष्कर्षका आधारमा प्रशंसनीय खोजसम्बन्धी अध्ययनका लागि योजना तथा रणनीति बनाइने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०, १८:१०