काठमाडाैँ । एमाले सांसद बिमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ।
बुधवार भएको निर्वाचनमा सांसद घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । उपस्थित ५५ मध्ये घिमिरेका पक्षमा ३९ जना सांसदले समर्थन गर्नुभयो । उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत सत्ता गठबन्धनका दलले समर्थन गरेका थिए ।
नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीको पक्षमा भने १६ मत मात्र परेको थियो ।
गत चैत १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि यो पद रिक्त भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक चैत ३० गते शुक्रवार दिउँसाे एक बजेर १५ मिनेटमा बस्ने संसद सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०, १५:५४