डोल्पा । च्याउ टिप्न जङ्गलमा गएको बेला डढेलोमा परी डोल्पामा तीन जना बालक घाइते भएका छन् ।
जलेर घाइते भएका त्रिपुरासुन्दरी नगरपालिका ४ का १० वर्षका विवश बुढा, १३ वर्षका समन्त बुढा र ८ वर्षका सुलस बुढाको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।
उनीहरूको शरीरको ९० प्रतिशत भाग जलेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा. अखण्ड उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो ।
दिउँसो घर नजिकैको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका हुन् । गम्भीर अवस्थाका उनीहरूलाई थप उपचारका लागि जिल्ला बाहिर लैजाने तयारी भए पनि खराब मौसमका कारण सुर्खेतबाट हेलिकप्टर जान नसकेकाले समस्या भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो ।
डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएकामध्ये ३ जना सैनिकको उपचारका क्रममा मृत्यु भएको रेडियो सुशासन डोल्पाले खबर पठाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०, १९:४०