काठमाडौँ । डोल्पामा जङ्गलमा लागेको डढेलोमा परी घाइते भएका २ बालकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका ४ का १० वर्षका विवश बुढा र १३ वर्षका समन्त बुढालाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित वर्न सेन्टरमा पठाइएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा अखण्ड उपाध्यायले सीआईएनसँग बताउनुभयो ।
त्रिपुरासुन्दरी नगरपालिका ४ का ८ वर्षका सुलश बुढाको उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो ।
चिकित्सक र आवश्यक उपकरणसहित काठमाडौँबाट गएको हेलिकप्टर डोल्पाबाट उडिसकेको छ । घर नजिकैको सामुदायिक वनमा लागेको आगलागीमा परेर तीन बालक हिजो घाइते भएका थिए ।
उनीहरुको शरीरको ९० प्रतिशत भाग जलेको डा उपाध्यायको भनाइ छ ।
डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएकामध्ये ३ जना सैनिकको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०, १०:०१