काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकासका लक्ष्य प्राप्त गर्न नेपाललाई आर्थिक स्रोत सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभएको छ ।
दिगो विकास लक्ष्य प्राप्त गर्न बाँकी ११ वर्षमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै कँडेलले नेपालको वार्षिक बजेट सबै खर्च गर्दा पनि हरेक वर्ष ५ खर्ब बजेट अपुग हुने गरेको जानकारी दिनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज भक्तपुरमा आयोजना गरेको सामुदायिक रेडियो पत्रकाहरुका लागि आयोजित दिगो विकास लक्ष्यसम्बन्धी दुईदिने तालिमको उद्घाटन सत्रमा उपाध्यक्ष कँडेलले सन् २०३० सम्मका लागि निर्धारण गरिएको दिगो विकास लक्ष्य प्राप्त गर्न हरेक वर्ष २० खर्ब बजेट आवश्यक पर्ने बताउनुभयो । तोकिएका १७ लक्ष्य प्राप्तिका लागि काम गर्ने क्रममा तथ्यतथ्याङ्कको ठूलो समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।
देश सङ्घीय संरचनामा गएसँगै तीन तहका सरकार बनेका र ती सरकाहरुबीच समन्वयको ठूलो अभाव देखिएको भन्दै उहाँले स्थानीय तहमा दिगो विकासका लक्ष्यलाई समेटेर योजना बन्न नसकेको बताउनुभयो ।
देशमा रहेका ७ प्रदेश मध्ये हरेक प्रदेशमा फरक खालका समस्या रहेको र फरक योजनाका साथ काम गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो । आवश्यक तथ्याङ्क नहुँदा धेरै कामलाई समयमै अगाडि बढाउन नसकिएकाले अब नयाँ ढङ्गले तथ्याङ्क सङ्कलनको काम सुरु गर्न लागिएको जानकारी गराउनुभयो ।
कार्यक्रममाअकोराबका अध्यक्ष सुवास खतिवडाले दिगो विकासको लक्ष्य प्राप्त गर्न सामुदायिक रेडियोहरुले सरकारसँग सहकार्य गर्ने बताउनुभयो । दिगो विकासका लक्ष्य प्राप्तिका लागि राष्ट्रिय योजना आयोगले गरिरहेको काममा पनि सामुदायिक रेडियोले सहयोग गर्नसक्ने खतिवडाले बताउनुभयो ।
स्थानीय सरकारहरुले ल्याउने कार्यक्रम र बनाउने योजनालाई गाउँ गाउँमा रहेका सामुदायिक रेडियोले निगरानी गर्दै ती योजनाहरु दिगो विकास लक्ष्यलाई समेटेर बनाइएका छन् कि छैनन् भनेर बहस सृजना गर्ने खतिवडाको भनाइ छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सामुदायिक रेडियोले योगदान गर्ने खतिवडाले विश्वास व्यक्त गर्नुभयो ।
तालिममा संयुक्त राष्टसङ्घीय विकास कार्यक्रम युएनडिपीका यमनाथ शर्मा, राष्टिय योजना आयोगका योजना अधिकृत शर्मिला कार्की, सीआईएनका म्यानेजर दीपक आचार्य, समाचार सम्पादक गोबिन्द खड्काले सहजीकरण गर्नुभएको छ ।
तालिममा सातै प्रदेशका ३० जिल्लाका सामुदायिक रेडियोमा कार्यरत पत्रकारको सहभागिता रहेको छ । युएनडिपीको आर्थिक सहयोगमा सामूदायिक रेडियो प्रशारक सङ्घ अकोराबले तालिमको आयोजना गरेको हो । तालिम भोलिसम्म चल्नेछ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६, १५:३८