काठमाडौँ । निर्वाचन आयोगले स्थगित भएको मतदाता मावली दर्ता र अद्यावधिक सुरु गरेको छ । यसअघि उपनिर्वाचनका लागि आयोगले अद्यावधिक र दर्ता रोकेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा यही वैशाख २५ गतेदेखि नामावली दर्ता र अध्यावधिक सुरु हुनेछ ।
अरु सबै जिल्लामा आजदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमाझैँ प्रदेश/जिल्ला निर्वाचन अधिकारीले प्रमुख नाम दर्ता अधिकारीको रूपमा काम गर्नेगरी मतदाता नामावली दर्ता तथा अद्यावधिकको काम सुरु हुने व्यवस्था मिलाइएको छ ।
पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित प्रि-रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साविकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ।
"कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडा भित्रको मतदान स्थल लगायतका विवरणमा रहेको त्रुटि सच्याउन, मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउन निवेदन दिन र झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिन समेत सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।" आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१, १३:१५