काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट धादिङको सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा सुरुङमार्ग छिचोलिएको हो ।
सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।
४२ महिनामा काम सक्ने गरी २०७६ साल कात्तिकमा शिलान्यास गरिएको सुरुङ्मार्ग निर्माण थालेको ५३ महिनापछि छिचोलिएको हो ।
कोभिड र बेलाबेला हुने स्थानीयबासिन्दाको अवरोधका कारण समयमै काम सक्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ मार्ग छिचोलिएपनि सबै काम सकेर यातायातका साधन सञ्चालन गर्न भने अझै १ बर्ष जति समय लाग्नेछ ।
यो सुरुङबाट काठमाडौँको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिने आयोजनाले जनाएको छ ।
मुख्य सुरुङको दूरी २ दशमलव ६८ किलोमिटर र आपतकालिन सुरुङको दूरी २ दशमलव ५५ किलोमिटर छ । आपत्कालीन सुरुङ यसअघि नै छिचोलिसकेर अहिले अन्तिम चरणको काम भइरहेको आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो ।
२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनाका लागि जापान सरकारले साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१, १४:२०