हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटारमा रहेको श्री रामचन्द्र मन्दिरमा पनि विशेष उत्सवको आयोजना गरेर श्रीरामको जन्मोत्सव मनाइएको छ । बिहानैदेखि स्थानीय समुदाय र टाढा टाढाबाट आएका भक्तहरूले भक्तिपूर्ण र उल्लासमय वातावरणमा श्री रामचन्द्र मन्दिर परिसरमा यज्ञ अनुष्ठान, विशेष प्रवचन, भजन, कीर्तन, लक्षदिप प्रज्वलन आदि कार्य गरेर राम नवमी पर्व मनाएको श्री रामचन्द्र मन्दिर संरक्षण समितिका सदस्य स्थानीय कुमार पौडेल बताउनुहुन्छ । श्री रामचन्द्र मन्दिर संरक्षण समिति अन्तरगतको भजन समितिका अध्यक्ष विनोदकुमार पाठकका अनुसार धेरै प्रचारप्रसार नभए पनि रामायणको वैभव बोकेको यो मन्दिरको धार्मिक तथा पुरातात्त्विक महत्त्व ठुलो रहेको छ । यस मन्दिरको संरक्षण, वरपर सत्तल, पार्टी, विभिन्न देवीदेवताको मूर्ति तथा मन्दिर निर्माणका लागि आफूहरू लागिपरेको पाठक बताउनुहुन्छ ।
रामचन्द्र मन्दिर परिसर प्रवेश गरिसके पछि दायाँ तर्फ ज्येष्ठ नागरिक समुदाय भवन देख्न सकिन्छ भने बायाँ तर्फ प्रवचन कक्षमा भजन किर्तन भइरहेको सुन्न पाइन्छ । यहाँ प्राय सबै दिन भजन हुने र आफूहरूले काठ क्षेत्रको खैँजडी भजन संरक्षणको काम गर्न पाएको पनि राम मन्दिरकै कारण हो भन्नुहुन्छ पाठक । शिखर शैलीमा बनेको सेतो रङ्गको रामचन्द्र मन्दिर अगाडी दक्षिण फर्किएका रामभक्त हनुमानको मूर्तिको समेत यहाँ दर्शन गर्न पाइने भएकाले यसले छुट्टै धार्मिक महत्त्व बोकेको छ । मन्दिरकै एक सुरमा रहेको शिलालेख अध्ययन गर्दा यो मन्दिर श्री शाके १७१० (वि. सं. १८४५) माघ शुक्ल सप्तमी सोमवारका दिन स्थापना भएको उल्लेख गरिएको पाइन्छ ।
स्थानीय गोपाल पाध्यायका वंशज ठूला घरे वृन्दका वामदेव पौडेलका नाति श्रीकृष्ण शर्माले सीता लक्ष्मण हनुमान सहितको मूर्ति स्थापना गरेको बत्ताइन्छ । खुट्या खेत मुरी २० तथा पूर्व पिपलको बोट पश्चिम देवालय देखि १२ हात उत्तर खोला दक्षिण मूलबाटो पार्टी देखि पूर्व पश्चिम दक्षिण पाँच पाँच हात साध गरी भित्रको जमिन फूलबारीको रूपमा श्रीराममा अर्पण गरेको भन्ने कुरा पौडेल कूल प्रकाशनमा उल्लेख छ । रामचन्द्रको मन्दिर भएकै हुनाले पहिले यो क्षेत्रको नाम रामटार भएको र पछि जनजिब्रोले प्रयोग गर्दै जाँदा अपभ्रंश भई लामाटारमा परिणत भएको भन्ने भनाई स्थानीयमा पाइन्छ ।
स्कन्दपुराण हिमवत् खण्डले बताएअनुसार अघि त्रेता युगमा चन्द्रवान् पर्वतमा शृङ्गी ऋषि रहन्थे । उनी कश्यप ऋषिका नाति विभाण्डक ऋषिका छोरा थिए, उहाँ मृगीकाका गर्भबाट जन्म लिएका पुत्र थिए । उनकै आचार्यत्वमा सम्पन्न पुत्रेष्टि यज्ञबाट राजा दशरथले राम, भरत, लक्ष्मण र शत्रुध्नको रूपमा चार छोरा प्राप्त गरेका थिए । सिस्नेरीको हालको शृङ्गी ऋषि गुफा आसपास बस्ने शृङ्गी ऋषिलाई लिन दशरथले ऋषिहरू पठाएका थिए ती ऋषिहरूका लागि प्रसिद्ध स्थान र तपो भूमिको रूपमा लिएका थिए ।
ढुङ्गे युगको हतियार फेला परेको स्थान, प्राग ऐतिहासिक र पौराणिक कालमा भगवती पार्वतीले ६४ लिङ्ग यात्रा गर्दा प्रयोग भएको गोश्रृङ्ग तीर्थ भएको यो स्थानको अध्ययन अनुसन्धान अझै गर्नु आवश्यक छ । गोपाल वंशको वंशावलीअनुसार प्राचीन चिन्तक गौतम ऋषि गोपाल वंशभन्दा पहिले उपत्यकामा आएको उल्लेख छ । गौतम वंशावलीअनुसार, इशापूर्व सातौँ शताब्दीको हाराहारीमा गौतम ऋषि बाहिरबाट उपत्यकाको गोदावरी क्षेत्रमा आई आश्रम खोलेर बसेका थिए ।
लिच्छवीकालीन ई. ७०५ वलम्बु शिलालेखमा उल्लेख भएअनुसार हालको गोदावरी र सिस्नेरी क्षेत्रमा उनले जीवनको धेरै समय बिताएको पाइन्छ । प्रकाण्ड ऋषिहरू मध्येका एक गौतम ऋषि र शृङ्गी ऋषिले यो क्षेत्रमा गरेको योगदानलाई र उनीहरूसँग सम्बन्धित विषयमा अनुसन्धान गर्दा यो क्षेत्रका धेरै मठमन्दिर र स्थानका प्रसङ्गहरु आउँछन् । त्यसैले लामाटारको नाम नै रहेको यो रामचन्द्र मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वको बारेमा थप अनुसन्धान र खोज गर्नु आवश्यक देखिन्छ । यो विषयलाई म र डा. मिलनकुमार थापाले संयुक्त रूपमा लेखेको ज्ञान शाला पुस्तक वि.सं २०७१ मा पनि उल्लेख गरिएको छ ।
गोदावरी, गोश्रृङ्ग, गोमती, गोचण्डी, गोभ्राटेश्वर जस्ता यो क्षेत्रका धार्मिक तथा पौराणिक महत्त्व बोकेका क्षेत्रको नामहरू गो बाट आउनुको कारण के होला भनेर खोज्दा पनि उनै ऋषिहरूसँग सम्बन्धित कामधेनु गाई र गोपाल वंशसँग जोडिएका कुराहरू आउँछन् । रामचन्द्र मन्दिर जस्तै महालक्ष्मी नगरपालिकामा भएका अन्य मन्दिरहरूको थप अध्ययन गरी एकीकृत गुरुयोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१, १६:२८