काठमाडौँ । पूर्वमुख्यसचिव तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको बिहीबार बिहान बीएण्डबी अस्पतालमा निधन भएको हो ।
८१ वर्षका शाक्य केही समयदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो । उहाँ डेढ महिनाअघि मात्र भारतको दिल्लीमा उपचार गराउनुभएको थियो ।
कानुन मस्यौदामा दख्खल राख्ने उहाँ कानुन अधिकृतबाट सेवा प्रवेश गरी कानुन मन्त्रालयको सचिव भए पछि सेवा परिवर्तन गरी प्रशासन सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले कानुन अधिकृतमा मन्त्रीपरिषद्का पूर्वअध्यक्ष तथा प्रधानन्यायाधीश खिलराज रेग्मीलगायतसँगै सेवा प्रवेश गर्नुभएको थियो ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले शाक्य कानुन मस्यौदामा विशेष दख्खल राख्ने व्यक्तित्व हुनुका साथै लोकसेवाको अध्यक्ष हुँदा पदपूर्ति प्रणालीमा सुधारका धेरै काम भएको उल्लेख गर्नुभयो ।
रोटरी इन्टरनेशनलको नेपाल गभर्नर समेत रहनुभएका शाक्य पछिल्लोपटक भूकम्प पछि रोटरीले सञ्चालन गरेको लिटरेसी मिसनका संयोजक रहनुभएको थियो ।
शाक्यका दुई छोरी र दुई छोरा हुनुहुन्छ । उहाँकी श्रीमतीको भने करिब तीन महिनाअघि निधन भएको थियो। शाक्यको जीवनी प्रकाशनको अन्तिम तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१, १४:१६