काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने अवसरमा सरकारले मंगलबार (भोली) सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कतारका राजा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल आउन लाग्नुभएको हो । एसियाली देशको भ्रमणमा आइतबार निस्कनुभएका उहाँले नेपाल फिलिपिन्स र बंगलादेशको भ्रमण गर्ने काठमाडौँमा रहेको नेपाली दुतावासले जनाएको छ । नेपालका लागि कतारका राजदुत मिसाल बिन मोहम्मद अल अन्सारीले यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने उल्लेख गर्नुभएको छ । राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता हुनेछ। कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। नेपाल सरकारले प्यालेस्टाइनी विद्रोही समुह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि हमाससँग कुटनीतिक पहल गरिदिन पनि कतारलाई आग्रह गर्ने तयारी गरेको छ । कतारका अमिरबाट नेपालको भ्रमण पहिलोपटक हुन लागेको हो।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१, १३:१३