काठमाडौँ । तराई-मधेसका जिल्लाहरूमा अबका केही दिन तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तत्काल देशभरि नै पानी पार्ने कुनै पनि प्रणाली नदेखिएकाले अझै केही दिन गर्मी यथावत रहने मौसमविद्ले बताएका हुन् ।
सीआईएनसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले केही दिनदेखि देशका अधिकांश क्षेत्रमा अधिकतम तथा न्यूनतम तापक्रम बढ्न सक्ने तर घट्ने सम्भावना नरहेको बताउनुभयो ।
देशका विभिन्न ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।
बढ्दो गर्मीको असर कम गर्न पर्याप्त मात्रामा पानी पिउन र सम्भव भएसम्म शीतलमा बस्न डाक्टरले सुझाव दिएका छन् ।
गर्मीका कारण अल्छि लाग्ने, हातखुट्टा बाउँडिने, चिडचिडाहट हुनेजस्ता समस्या देखिने भएकाले सुरक्षा सतर्कता अपनाउन कन्सल्ट्यान्ट फिजिसियन डा. रोशनकुमार झाले अनुरोध गर्नुभयो । गर्मीबाट जोगिनको लागि भन्दै बाहिरका पेय पदार्थ नपिउन पनि उहाँले अनुरोध गर्नुभयो ।
बरु घरमै पाइने कागती, तुलसीको पात, पुदिना पकाएर खाँदा शितल हुने र फलफूलको मात्रा बढाउन उहाँको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१, ०९:०८