काठमाडौँ । नेपाल र कतारबीच सहकार्यबारेमा विभिन्न सम्झौता र समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तापछि एउटा सम्झौता र सात वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको हो ।
यस्तै कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।
कतारका राजा थानीसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकाजमा आयोजना गरेको दिवा भोजमा सहभागी हुने र उतैबाट स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका अमिर थानी मंगलबार काठमाडौं आउनुभएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१, १३:२९