काठमाडाैँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्विकार गरेकाे छ । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको सर्वोच्चले जनाएको छ । यससँगै रामाझीसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म जेलमै रहने भएका छन् ।
जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि रायमाझीले पुनरावेदन गरेका थिए ।
सर्वोच्चले यही मुद्दामा जेलमा रहेका पूर्वसांसद एवम् कांग्रेस नेता आङटावा शेर्पालाई भने ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शेर्पालाई जिल्ला अदालत र उच्च अदालतले थुनामै राख्नुपर्ने आदेश दिएका थिए । यस्तै उच्च अदालतले थुनामा पठाएका गोबिन्दकुमार चौधरी र तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१, १९:४७