काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले तराई मधेशको तापक्रम अझै बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाले शनिबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आउँदो विहीबारसम्म गर्मी अझै बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भनेको हो ।
आइतबारबाट आउँदो विहीबारसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो । पहाडका उपत्यका र खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने अनुमान गरिएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले पहाडका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना भए पनि आगामी ५ दिन तराईको तापक्रम ४० डिग्री सेल्सियसको आसपासमा रहने अनुमान गरिएको सीआईएनसँग बताउनुभयो ।
तातो हावाबाट बच्न सकेसम्म बाहिर नजाने, हल्का र सुतीका कपडा लगाउने, पानी र झोलिलो खानेकुरा धेरै खाने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरले सुझाव दिएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१, २०:०१