काठमाडौँ । तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको हाे । सम्मेलनका सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश रहेको बताउनुभयाे ।
सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको भन्दै उहाँले सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजना राखिएको र ती परियोजनामा लगानीकर्ताले लगानी गर्न सक्ने बताउनुभयो ।
२ दिनसम्म चल्ने सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनमा नेपालका तीन सय ८५ सहित कुल १६ सय जना सहभागी रहने लगानी बोर्ड नेपालले जनाएको छ ।
जसमा चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बङ्गलादेश र युएईका १३/१३, जर्मनीका १० जना तथा दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुने बोर्डले जनाएको छ ।
पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जना सहभागि हुनेछन् ।
त्यसैगरी, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन/तीनजना सम्मलेनका लागि नेपाल आएका छन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।
त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहेको बोर्डले जनाएको छ ।
सरकारले बैदेशिक लगानी भित्र्याउन भनेर गर्ने यस्ता सम्मेलनमा अरबाैँ डलरको लगानीको प्रतिवद्धता आउने भए पनि बास्तविकतामा भने त्यसको अत्यन्तै थोरै मात्र लगानी आइरहेकाले प्रतिवद्धता अनुसारको लगानी भित्र्याउन सक्नु सरकारका लागि चुनाैतीपूर्ण रहेको अर्थ र विकासका जानकारले बताउँदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१, ११:३४