काठमाडौँ । यही वैशाख १५ मा भएको उपनिर्वाचन अन्तर्गत इलाम २ मा नेकपा एमालेको अग्रता कायमै छ भने बझाङमा नेपाली काँग्रेसका उम्मेदवारलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
यो समाचार तयार पार्दासम्ममा इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ८ सय ९८ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार २ सय ८२ मत पाउनुभएको छ ।
तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६ सय ३४ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले १३ सय ५ मत प्राप्त गर्नुभएको छ ।
बझाङमा हालसम्म छविसपाथिभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ ।
मष्टा गाउँपालिका वडा नम्बर ६ र ७ गणना भइरहेको छ ।
हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहले ८ हजार ६ सय २६, नेकपा एमालेका दमन भण्डारीले ८ हजार ३ सय ९६, नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार १ सय ५३ मत पाउनुभएको रेडियो जयपृथ्वी बझाङले खबर पठाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१, ०९:०६