बझाङ । बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनबाट नेकपा एमालेका दमन भण्डारी विजयी हुनुभएको छ । वैशाख १५ गते भएको उप निर्वाचनबाट भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो ।
यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मतसहित तेस्रो हुनुभयो । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएर चाैथाे स्थानमा रहनुभयाे ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन परिणामको आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । २०७९ सालको चुनावमा गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी हुनुभएको थियो ।उहाँकाे दुर्घटनामा निधन भए पछि बैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
काे हुन् बिजेता भण्डारी
बि.सं.२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका–१ भण्डारी गाउँमा जन्मिएका दमन भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौँ पुगेपछि अनेरास्ववियुबाट विद्यार्थी राजनिति सुरु गर्नुभएको हो । उहाँ २०४२ सालमा नेपाल ल क्याम्पसको कमिटीमा आबद्ध भएर औपचारिक रूपमा अनेरास्ववियुको सदस्य बन्नुभएको थियो ।
नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (बीएल) उत्तीर्ण गरेपछि बझाङ नै फर्किएका भण्डारी २०५४ सालमा मटेला गाविसको अध्यक्ष निर्वाचित हुनुभयो ।
२०५५ सालमा नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाविस राष्ट्रिय महासङ्घको जिल्ला अध्यक्ष निर्वाचित भएका भण्डारी युवा सङ्घ नेपालका सेती अञ्चल सचिवसमेत बन्नुभयो ।
भण्डारी २०६९ सालमा एमाले जिल्ला कमिटी बझाङको सचिव चुनिनुभयो । उहाँ २०७८ सालदेखि हालसम्म उनी नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१, १३:५७