बझाङ । बझाङमा पाँच दिनको अवधिमा छुट्टा, छुट्टै दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । १७ जना घाईते भएका छन् । हिजो साँझ जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो भने आईतबार साँझ सदरमुकाम चैनपुर नजिकै जीप दुर्घटनामा परि २ जना र मंगलबार राती मोटरसाईकल दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।
तिव्र गतिमा सवारी चलाउदा र सडकको स्तरोन्नती हुन नसक्दा दुर्घटना बढेको प्रहरीको भनाई छ । गए राती भएको मोटरसाईकल दुर्घटनामा परि मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० बस्ने बर्ष २३ का पवन छत्याल र वडा नं ७ सुवेडा बस्ने २४ बर्षिय प्रेम हमाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । तमैल बजार नजिकै जयपृथ्वी नगरपालिकाको वडा नं ७ को मालु भिरमा से ६ प ६६६४ नं को मोटरसाईकल दुर्घटना भएको हो । दुर्घटनामा जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरका २० बर्षिय आकाश सिंह घाईते भएका छन् । घाईते सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ ।
त्यस्तै शुक्रबार बेलुका सदरमुकाम चैनपुर बाट तल्कोट गाँउपालिका जाँदै गरेको से १ ज ६६४० नम्बरको जीपको ठक्कर बाट तल्कोट गाँउपालिका वडा नम्बर २ किथ्थु कुवँरका दश बर्षिय छोरा महेश कुँवरको मृत्यु भएको थियो । आईतबार साँझ जीप दुर्घटना हुँदा २ को मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन । आइतबार साँझ ७ बजे तिर जयपृथ्वी नगरपालिका ११ को सदरमुकाम चैनपुर नजिकै चैनपुर – धामीलेक सडक खण्डमा से १ ज ८९० नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परि जयपृथ्वी नगरपालिका ११ धामीलेक घर भएका १२ वर्षीया समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशीको घटना स्थलमा नै मृत्यु भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५, १६:०७