काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सार्वजनिक गरेको छ।
मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका ३४ वटा घटना भएको उल्लेख छ । ती घटनामा पत्रकारविरुद्धका धम्की, आक्रमण र उत्पीडनसमेत छन् । यी घटनाहरूमा शारीरिक आक्रमण, मौखिक दुर्व्यवहार, धम्की, गैर कानुनी गिरफ्तारी र उपकरण जफतसहितलाई समेटिएको मिडिया एक्सन नेपालले जनाएको छ ।
प्रतिवेदनले पत्रकारिताबाट पत्रकार महिलाको चिन्ताजनक पलायनलाई पनि झल्काएको छ । यस अवधिमा २९ जना महिलाले यो पेसा छोडेको उल्लेख गरिएको छ।
महिला पत्रकारहरूले लैङ्गिक भेदभाव, यौन उत्पीडन र करिअर अघि बढाउँदा असमान अवसरहरूको पनि सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ । यी घटनाले महिलासँगै सबै पत्रकारहरूका लागि सुरक्षित र थप समावेशी वातावरण सिर्जना गर्न सुधारको आवश्यकता देखाएको छ । प्रतिवेदनले नेपालका मिडिया हाउसभित्र श्रम अधिकार उल्लङ्घनलाई पनि उजागर गरेको छ ।
तलब नपाउने, पाए पनि समयमा नपाउने तथा नियुक्ती पत्र सम्झौता कागजातहरूको अभावदेखि न्यायका लागि जटिल कानुनी प्रक्रिया लगायतलाई उल्लेख गरिएको छ।
श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नहुनुले पत्रकारलाई शोषण र दुर्व्यवहार, उनीहरूको स्वतन्त्रतामा हनन र पत्रकारिता पेसामै चुनौती थपिदिएको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ।
पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनताका कारण समस्या भएको र द्वन्द्व कालमा दर्ता भएका ३९ वटामध्ये पाँच वटामा मात्रै मुद्दा चलाइँदा पनि समस्या भएको पाइएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडीले पत्रकार समाजको मार्गदर्शन गर्ने तेस्रो आँखा भएको बताए । उनले आफूलाई मात्रै नभई अबको पिँडीका लागि पनि वातावरण बचाउन पर्ने र यसमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
अग्रज पत्रकार ध्रुवहरि अधिकारीले पत्रकारले आफ्नो अधिकार र दायित्व बुझ्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
यस्तै, युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले प्रेस स्वतन्त्र हुन सके मात्र स्वतन्त्र प्रेसले मात्र लोकतन्त्रको रक्षा गर्ने बताउनुभयो ।
मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियङ्का झाले मिडियामा महिला सुरक्षा, प्रेस स्वतन्त्रता र समावेशिताका लागि सबैले मिलेर अघि बढ्नु पर्ने बताउनुभयो ।
मिडिया एक्सन नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा पत्रकारको अधिकार रक्षा गर्न, श्रमजीवी पत्रकार ऐन लागू गर्न र कार्यस्थलमा हुने लैङ्गिक भेदभाव तथा उत्पीडनलाई सम्बोधन गर्न आवश्यक रहेको जनाएको छ ।
प्रतिवेदनले प्रेस स्वतन्त्रतालाई आधारभूत लोकतान्त्रिक सिद्धान्तका रूपमा कायम राख्न, सञ्चारमाध्यम र पत्रकारमाथिको स्वेच्छाचारी प्रतिबन्धबाट टाढा राख्न सुझाव दिएको छ ।
प्रतिवेदन मिडिया एक्सन नेपालको वेबसाइटमा उपलब्ध रहेको संस्थाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१, १८:०६