अस्मिता विष्ट
लागेको थियो
गएपछि आमा
गए होलान् आमासँगै
आमाको आवाज
आमाको बास्ना
आमाले सिंगारेका स्वाद
आमाले मिलाइदिएका जीवनका लय ।
तर बोकि हिँड्दा मष्तिष्कमा
कर्तव्यका भारी
भासिन थाल्छन् जब पाइतालाहरु
निराशाको दलदलमा
मधुरो हुन थाल्छन् जब आँटको उज्यालो
खिइन थाल्छन् हौसलाको बाती
सुनिन्छ त्यसैबेला
आमाको गोडाको अथकित पदचाप ।
उनका हातहरुबाट निस्किएको लयबद्ध धुन
उनले पिसेका अन्न झैँ,
दलहन झैँ पिसिएर जिन्दगीको जाँतोमा
नभेटिएको उनको संगित
अनि प्वाँख बन्छ मेरो मन
उडान भर्छन् मेरा पाउहरु ।
टुक्रिएर, पिसिएर संघर्षको जाँतोमा
बिलाउन थाल्छ जब जीवनबाट मिठास
मिसिएर पसिना र आँशु
तितो लाग्छ जिन्दगी
दिन्छन् त्यसैबेला दस्तक
आमाले छोडिगएका स्वादहरुले ।
उनले सुनाएका चट्पटा चुट्किलाहरू
संघर्षका नुनिला फेहरिस्तहरू
वैंशका मिठा सपनाहरु
बन्छन् शहदसरी मेरा सपना
बाफ बनी उडि जान्छन् अमिला दुखहरु ।
पछारिएर, बज्रिएर, निचोरिएर
धोबीले लुगा धोएझैं
हराउन थाल्छ जब
जीवन वस्त्रबाट सुवास
धुजाधुजा भएर फाट्छ उमंग
बोकि ल्याउँछ त्यसैबेला पवन
आमाले छोडिगएका स्नेही सुवास,
आमाको मिहिनेतको सुगन्ध
उनले बाटेको धुपको मुठाबाट
उनले पिसेको मसलाको बट्टाबाट
उनले हालेको अचारको शिशीबाट ।
आमाले गुञ्जाइरहने आवाजले
आमाले छोडिगएको बास्नाले
आमाले सिंगारेको स्वादले
लयबद्ध मिलाइ रहन्छन्
खस्दै गएका मेरा सपनाका पंख
धमिलिँदै गएको विश्वासको ताल
सुक्दै गएको अठोटको वृक्ष
बेसुर बनेको जीवन गीत ।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१, १५:१९