काठमाडौं । अवरुद्ध संसद् सुचारु सर्वदलीय बैठक सुरु भएको छ । अवरुद्ध बैठक खुलाउन दलीय सहमतिका लागि सभामुख कृष्णबहादुर महराले सर्वदीय बैठक बोलाउनु भएको छ । सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठक अहिले संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसोदेखि सुरु भएको बैठकमा सभामुखले संसद सुचारु गर्न दलका नेताहरूसँग छलफल भइरहेको सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए। बैठकमा सत्तापक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायत सहभागी छन्। सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले आजपनि सदनको अवरोध कायमै राख्ने भएका छन् ।
प्रमुख विपक्षी दल काँग्रेसले सर्लाहीमा हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको घटना छानबिनको माग गरिरहेको छ ।
संघीय संसदमा आज के के छन् कार्यसूची ?
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । काँग्रेस र राजपाको विरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । संसद सचिवालयले बैठकको लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । आजको बैठकमा विभिन्न प्रतिवेदनहरु पेश हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “भूउपयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले “जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्र्नुुहुनेछ । यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुनेछ ।
“औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पनि पेश गर्ने कार्यक्रम छ । आजैको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुने कार्यक्तम छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “वातावरण संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुनेछ । यस्तै, आजैको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले “प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६, १३:०९