काठमाडौँ । सङ्घीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ ।
पहिलो दिन प्रतिनिधि सभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्ने तयारी भए पनि नेपाली काँग्रेसले भने आज बिहानै पार्टीको बैठकबाट संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा निणर्य लिने भएको छ ।
त्यसका लागि संसदीय दलको बैठक आह्वान गरिएको छ ।
सीआईएनसँग कुराकानी गर्दै नेता रामहरि खतिवडाले भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारीको रकम अपचलनको आरोपका बारेमा संसदीय छानबिन समिति गठनको माग निरन्तर राख्ने सङ्केत गर्नुभयो ।
सभामुख देवराज घिमिरेले हिजो प्रतिनिधि सभामा रहेका प्रमुख ५ दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएर अधिवेशनको पहिलो दिन शीर्ष नेताहरूले शुभकामना दिने अभ्यास रहेको जानकारी गराउँदै कसरी जाने भन्ने बारेमा परामर्श गर्नुभएको छ ।
बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले सम्वोधन गर्ने अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संसद सञ्चालनको बारेमा सबै दल गम्भीर हुनुपर्ने बताउनुभयो ।
हिजोको बैठकमा राजनीतिक दलहरुका बीचमा सहमति नभए अन्य विषय कार्यसूचीमा नराख्न सकिने सभामुख घिमिरेले बताउनुभएको छ ।
सङ्घीय संसद सचिवालयले बनाएको सम्भावित कार्यसूचीमा आजको बैठकमा सुरक्षण मुद्रण सम्बन्धी विधेयक र विद्युतीय व्यापार विधेयक अगाडि बढाउने उल्लेख छ ।
संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा नेपाली काँग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक आज बिहानका लागि बोलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१, ०७:४७