रामेछाप । रामेछाप प्रहरीले जङ्गलमा आगो लगाएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।
रामेछाप नगरपालिका १ गोठगाउँ र वडा नं ३ साँघुटारको विभिन्न जङ्गलहरूमा आगो लगाउँदै हिँडने दुई जना पक्राउ परेको प्रहरीको भनाइ छ ।
आगो लगाउँदै हिडेको आरोपमा लिखु तामाकोशी गाउँपालिकाका २३ वर्षीय अशोक महत र रामेछाप नगरपालिका-३ का सुवास महतलाई पक्राउ गरिएको हो ।
उनीहरू रामेछाप नगरपालिका-१ मा रहेको कालिका देवी गाईखुरा सामुदायिक वन ठुलीभीर नजिकैको जङ्गलमा आगोे लगाउँदै हिडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, डीएसपी प्रदीप सिंहले बताउनुभयो ।
पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१, ०७:१७