काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राजीनामा दिनुभएको छ। यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएको जानकारी दिनुभयो ।
राजीनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।
आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै यादवले राजीनामा बुझाउनुभएको हो। अघिल्लो साता जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको थियो । नयाँ दल सरकारमै रहेको छ ।
यादवले यसअघि तत्कालै वर्तमान सरकार छोडिनहाल्ने बताउनुभएको थियो । तर, आफु देश बाहिर रहेको बेला आफ्नो दल विभाजन भएको बारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीलाई भेटेपछि सरकारमा बसिरहन मन नलागेको यादवले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१, ११:४९