काठ्माडौँ । बाली लगाउनु अघि पहिले माटोमा कुन कुन खाद्य तत्वको मात्रा कति छ ? माटोको गुणस्तर कस्तो छ ? कुन तत्वको अभाव छ ?
जस्ता कुरा थाहा पाउन जरुरी हुन्छ । यी कुरा माटो परीक्षणबाट मात्र थाहा हुन्छ । तर लामो समयदेखि खेती गरिरहेका किसानलाई पनि माटो परीक्षणबारे कुनै जानकारी छैन ।
पछिल्ला १० वर्षमा नेपालको खेतीयोग्य जमिन ३ लाख ७ हजार २ सय २९ हेक्टर घटेको छ ।
राष्ट्रिय कृषि गणना २०७८ को प्रतिवेदन अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा ४१ लाख ३० हजार सात सय ८९ परिवारले खेती गरिरहेका छन् ।
वर्षभरि खान पुग्ने किसानको सङ्ख्या ४५ प्रतिशत छ ।
पछिल्लो समय नेपाली माटोको उत्पादकत्व घटिरहेको विभिन्न अध्ययनले देखाएको छ । उत्पादकत्व बढाउन माटोको उपचार अनिवार्य भइसकेको माटो विज्ञ जीवन सुवेदीको भनाइ छ ।
नेपालमा ७ प्रदेश र सङ्घीय राजधानीमा गरी जम्मा ९ वटा मात्रै माटो परीक्षण केन्द्र छन् । यी केन्द्रले वार्षिक ३० हजार किसानलाई मात्रै सेवा दिन सक्छन् ।
किसानलाई माटोको गुणस्तरबारे थाहा होस् भनेर सुरु गरिएको विद्युतीय नक्साङ्कनबाट वार्षिक ३५ हजारको हाराहारीमा किसानले फाइदा लिएका छन् ।
माटो परीक्षणबारे सरकारको नीति पनि प्रष्ट नभएको कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान केन्द्रका प्रमुख श्रीप्रसाद विष्टले बताउनुभयो ।
स्वस्थ माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३ देखि ५ प्रतिशत हुनुपर्छ । तर नेपालको माटोको प्राङ्गारिक पदार्थको औषत मात्रा १ दशमलब ९६ प्रतिशत मात्र छ ।
रसायनिक मल र विषादीको बढ्दो प्रयोग रोकेर माटोलाई पुरानै लयमा फर्काउन नसके अबको १० वर्षमा नेपालमा उत्पादन आधा घट्ने विज्ञले चेतावनी दिँदै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१, ०९:५८