काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको योजना राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
यो योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य पनि आयोगले लिएको छ ।
आर्थिक वर्ष २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत पुर्याउने तथा गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।
योजनामा मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य १६ औं योजनाले लिएको हो । यस्तै औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्याउँदा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ ।
यस्तै विजुली उत्पादन ११ हजार ७ सय ६९ मेगावाट पुर्याउने, विजुली नेपालका सबै नागरिकसम्म र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य लिएको आयोगले जनाएको छ ।
आयोगले १६औं योजनामा औसत आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत हुने र चालु आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१, १३:५२