काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले संसदको अवरोध हटाउन ३ बुँदे सहमति हुँनै लागेको समयमा नेपाली काँग्रेस पछि हटेको दाबी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा उहाँले आज विचार सार्वजनिक गर्दै काँग्रेस र रास्वपाबीच समझदारी भएको तर, उक्त समझदारीबाट काँग्रेस पछि हटेको दाबी गर्नुभएको हो ।
लागेको आरोपको बारे पार्टी सभापति तथा गृह मन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने आफूहरूको अडान कायमै रहेको उहाँको भनाइ छ ।
नेता खनालले सहकारी संस्थाहरूमा देखिएको सङ्कटको समाधानका लागि संसदीय छानबिन समिति बनाउने, केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायत सांसदहरूले उठाएका सहकारी बचतकर्ताहरूको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने र अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाहीसम्बन्धी सुझाव र सिफारिस गर्ने सहमति भएको दाबी गर्नुभएको छ ।
तर संसदमा फरक रूपमा काँग्रेस प्रस्तुत भएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१, १०:०८