काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सभामुख घिमिरेले विहीबार विपक्षीको अवरोधकाबीच सदन सञ्चालन गर्न खोजेकोमा आपत्ति जनाउँदै सभामुखको भूमिकाबारे प्रश्न उठाएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
बैठकले सरकार र सत्ता पक्षलाई जनहित बिरोधी काममा नलाग्न चेतावनी दिने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।
संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर बिरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिने तर सभामुख घिमिरेले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर बिरोध जनाउँदा समेत बैठक सञ्चालन गर्नु उचित नभएको ठहर गरेको उहाँले बताउनुभयो ।
सभामुख सिंगो सदनको सभामुख हुनुपर्ने भन्दै कांग्रेस संसदीय दलको बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गरेको उहाँले बताउनुभयो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा वचत गरेको अर्बौं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको दाबी गर्नुभयो । नेपाली काँग्रेस संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१, ११:५३