इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।
दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको सरकारी अधिकारीले पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको खबरमा उल्लेख गरिएको छ ।
आइतबार हेलिकप्टर दुर्घटनामा परेका रायसी र अब्दुलाहियानको अवस्था अज्ञात थियो । खराब मौसमका कारण उद्धारकर्मी सोमबार बिहान मात्र घटनास्थल पुगेका थिए।
यसअघि टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर(अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१, ११:१३